मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी
मिति २०८३ साल कार्तिक १२ र १३ गते प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतको आयोजनामा मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी प्रदेश जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख श्री बद्रीराज आचार्यज्यूको अध्यक्षतामा कार्यालयको सभाहलमा सम्पन्न भएको छ।
जिल्लाभित्रका सातवटै स्थानीय तह तथा प्रदेश अस्पतालबाट सञ्चालित मातृ तथा नवशिशु स्वास्थ्यलगायत स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि तथा कार्यसम्पादनको तुलनात्मक समीक्षा एवं विश्लेषण गर्ने, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती तथा कमजोरीहरूको पहिचान गरी सुधारात्मक उपायहरू निर्धारण गर्ने र विशेषगरी वञ्चितीकरणमा परेका समुदायहरूले स्वास्थ्य सेवाको उपभोग गर्दा भोग्नुपरेका बाधा तथा अवरोधहरूको पहिचान गरी समाधानका लागि सम्बन्धित निकायलाई सुझाव दिने उद्देश्यले उक्त समीक्षा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतका पब्लिक हेल्थ नर्सिङ निरीक्षक श्री सुमन शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य परिवार नियोजन सुपरभाइजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले राख्नुभएको थियो। कार्यक्रमको पहिलो दिन PRTP Application मा छलफल गरिएको थियो जसको सहजिकरण प्रोग्रम अफिसर नारायण रिजालज्यू ले गर्नुभएको थियो ।
समीक्षा कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तह तथा प्रदेश अस्पतालबाट आर्थिक वर्षभरि सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौती र तिनका सम्भावित समाधानका उपायहरूबारे प्रस्तुतिकरण गरिएको थियो। साथै, प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतका तर्फबाट जिल्लाको समग्र स्वास्थ्य कार्यक्रमको प्रगति तथा उपलब्धिसम्बन्धी प्रस्तुतीकरण गरिएको थियो।
यसै अवसरमा मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने तीन स्थानीय तहलाई कार्यक्रमका विभिन्न सूचकहरूको मूल्याङ्कनका आधारमा सम्मान गरिएको थियो। कार्यक्रमका सूचकमा आधारित उपलब्धि, नवीनतम अभ्यास तथा सिर्जनशीलता (Innovation), प्रस्तुतीकरण, समन्वय तथा प्रतिकार्य (Coordination and Response) र प्रतिबद्धतालाई मूल्याङ्कनका आधार बनाइएको थियो।
मूल्याङ्कनका आधारमा उत्कृष्ट घोषित स्थानीय तहहरू:
प्रथम: पैयुँ गाउँपालिका
द्वितीय: विहादी गाउँपालिका
तृतीय: कुश्मा नगरपालिका
कार्यक्रमको अन्त्यमा समीक्षा तथा छलफलबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा आगामी दिनमा मातृ तथा नवशिशु स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पर्वत जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरु, स्वास्थ्य शाखा प्रमुखज्यूहरू, स्वास्थ्य शाखामा कार्यरत मातृ तथा नवशिशु कार्यक्रम फोकल पर्सनहरु, नर्सिङ कर्मचारीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू (FCHV), प्रदेश अस्पतालका स्वास्थ्यकर्मीहरू तथा सम्पूर्ण जनप्रतिनिधिज्यूहरु प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
मातृ तथा नवशिशु स्वास्थ्य सेवाको सुधार, सुरक्षित मातृत्वको प्रवर्द्धन तथा नवजात शिशुको स्वास्थ्य संरक्षणका लागि यहाँहरूबाट प्राप्त निरन्तर सहयोग, समन्वय, सक्रिय सहभागिता र प्रतिबद्धताको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य र एकताका साथ अघि बढ्ने अपेक्षा गर्दछौँ।
Download: मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी
1
